पुष २५ अछाम
चौरपाटी गाउँपालिकामा ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ । पालिकाको खेकुद मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष साउँदले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने उत्कृष्ट खेलाडीलाई सम्पुर्ण व्यवस्था सहित प्रशिक्षण दिने बताए ।
उनले खाना बस्न लगायतको व्यवस्था पालिकाले गर्ने बताए । उनले आफूसँग भएको खेल निष्पक्ष भएर देखाउन पनि विद्यार्थीहरुलाई अनुरोध गरे । गाउँपालिकाका विभिन्न ८ विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितालाई गाउँपालिकाले प्रायोजन गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा पुरुष र महिला भलिबलसहित एथलेटिक्सका विभिन्न विधाहरूमा प्रतिस्पर्धा हुनेछ । पालिका खेलकुद बिकास समितिका अध्यक्ष तुल बहादुर साउँदका अनुसार, एथलेटिक्सतर्फ छोटो तथा लामो दूरीको दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो, कबड्डी र सटपुट जस्ता विधाहरू समावेश छन् ।
प्रतियोगिताका विजेतालाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, प्रथम स्थान प्राप्त गर्ने विद्यालयका खेलाडीहरूले जिल्ला, प्रदेश, र सङ्घीयस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाउने व्यवस्था रहेको शिक्षा शाखाले जनाएको छ । प्रतियोगिता उद्घाटन समारोहमा उपाध्यक्ष सरदेवी खड्का, प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापा, नेपाली कांग्रेसका प्रदेश सभापति महेश खड्का,गाउँपालिकाका पूर्वअध्यक्ष हर्कबहादुर साउँद, माओवादी केन्द्रका नेता रामबहादुर थापा, एमालेका नेता राम आउजी, महिला सञ्जाल चौरपाटीकी अध्यक्ष क्षेत्र खड्का लगायत अभिभावकहरुको पनि सहभागीता रहेको थियो ।