पुष २९ अछाम
लायन्स क्लब अफ साँफेबगरको आयोजनामा यही माघ ११ गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ । बयालपाटा अस्पतालमा लायन्स क्लब अफ साँफेबगरले निर्माण गर्न लागेको अपुरो रक्त सञ्चार केन्द्र निर्माण सम्पन्न गर्ने उद्देश्यले सातौँ साँफेबगर महोत्सव आयोजना हुने भएको छ।
महोत्सवको मुख्य आकर्षकको रुपमा हेली टूर रहने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण कुँवरले जानकारी दिए। अछाम र बाजुरा जिल्लामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरु बडिमालिका, खप्तड, रामारोशन र बैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी पर्यटन गन्तव्यका रुपमा स्थापित गर्न हेली टूर संचालन गर्ने निर्णय भएको कुँवरले बताए। उनका अनुसार महोत्सव अवधिमा साँफेबगरदेखि खप्तड, बडिमालिका र रामारोशन क्षेत्रमा हेलीकोप्टबाट दर्शन तथा अवलोकन गर्न सकिने तयारी आयोजकले गरेको छ । साँफेबगरबाट खप्तड र रामारोशन प्रतिव्यक्ति २० हजार र बडिमालीका प्रतिव्यक्ति ३० हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिने निर्णय भएको महोत्सव आयोजक समितिका प्रवक्ता महेश कुँवरले जानकारी दिए।
बजार विस्तार एवं नयाँ वस्तु उत्पादन गर्ने अवसर श्रृजना गर्ने, कृषि, जडिबुटी तथा हस्तकलाका उत्पादनलाई व्यवसायीकरण उन्मुख गराउन सहयोग गर्ने, सुदूरपश्चिमको मौलिक एवं परम्परागत कला, लोक संस्कृति एवं साहित्यको जगेर्ना एवं प्रवद्र्धनमा सहयोग पुर्याउने लगायतका महोत्सवका थप उद्देश्यहरु रहेको आयोजक संस्था लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष दिनेश कुँवरले जानकारी दिए। महोत्सवमा करिब १०० स्टलहरु रहने तथा पचास हजार भन्दा बढीले अवलोकन अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ।
महोत्सवमा स्थानीय परिकार कोदोको परिकार, सिस्नोको परिकार, पिनापानी, गतानी डुप्का, मासको तितौडा, फाडो, चामलका परिकारको अवलोकन तथा स्वाद लिन पाईने जनाइएको छ। बाल उद्यान तथा रमाईलो मेलाको अवलोकन गर्न पाइनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको कला प्रदर्शन गर्ने सांस्कृतिक÷ कलाकार समन्वय उपसमिति संयोजक भरतबहादुर खड्काले जानकारी दिए। उनका अनुसार महोत्सवमा शान्तिश्री परियार, समीक्षा अधिकारी, ज्योति मगर, टंक तिमिल्सिना, चक्र बमलगायतका कलाकारहरुल मनोरंजन प्रदान गर्ने खड्काले जानकारी दिए।