पुष १५ अछाम
आज पौष महिनाको १५ गते । अछाम लगायत सुदुरपश्चिममा आजको दिनलाई धुमधामका साथ मनाउने गरिन्छ । एक आपसमा जम्मा भएर कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वको रुपमा लिइने गरिन्छ । यहाँको स्थानीय भाषामा पुष १५ लाई ‘पदुरो’ भन्ने गरिन्छ । अन्य पर्व जस्तै पुष १५ लाई पनि निकै महत्वमा साथ मनाउने गरिन्छ ।
यो पर्वमा दिनमा भन्दा रातीको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला बिषेश गरी चामलको पिठोबाट बनेको ढुकढुके भुच्चाने रोटी, मास र चामल एउटै ठाउँका पिसेर बनाएको मासचाङ्गगले रोटी,तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन रहेको छ । अन्य चाडपर्ब जस्तै आजको दिनलाई पनी बिषेश रुपमा मनाउदै आएका साँफेबगर नगरपालिकाका स्थानीय कालुसि कुँवरले बताए । उनले भने, ‘१५ गतेको बेलुकी प्रत्येकको घरघरमा चामलको पिठोको ढुकढुके रोटी पाक्छ । कसैले ढुकढुके रोटी त कसैले भुच्चाने रोटी भन्छन् । अर्काे मास र चामल एउटैमा पिसेकोे रोटी पनि हुन्छ ,नुन खुर्सानी सहित मसला पनि हालेर पकाउने गरिन्छ भने ढुकढुके रोटीमा घिउ मात्र मिसाईन्छ । टोल टोलमा सामुहिक रुपमा पनि पकाउने गरिन्छ र रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ ।’ आफुहरुको पालामा साँच्चै रातभर जाग्राम बस्ने,कथा सुन्ने प्रचलन रहे पनि अहिले भने त्यो हराउदै गएको उनले सुनाए । पुस १५ गतेको रात वर्ष भरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिएको कुवँरले बताए ।
बिषेश गरी किशोरीहरु मिलेर एउटै ठाउँमा जम्मा भई रोटी पकाउने र इष्टमित्रको केटाहरु वा भिनाजुलाई निमन्त्रणा दिएर उनीहरुसँगै रोटी खादै न्याउले खेलेर, गीतकथा सुन्ने सुनाउने गरेर रमाईलो गर्दै रात बिताउने चलन रहेको चौरपाटी गाउँपालिकाका छत्र खड्काले बताईन् । उनले भनिन्,‘आजको राती केटीहरु एउटै ठाउँमा जम्मा भएर रोटी पकाउछन् अनि भिनाजुलाई बोलाउछन् र रोटी भाँच्न लगाउछन,त्यसपछि सबै मिलेर रोटी खाँदै गाउँखाने कथा ,गीत गाउदै रमाईलो गर्छन् ।’
पर्वको तयारी स्वरुप हरेक घरका गृहणीहरुले आज आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लाग्ने गर्छन् । पर्वमा विवाहित छोरी चेलीलाई घरमा आमन्त्रण गरी सत्कार गर्ने गरिन्छ । विशेष गरी रातभर नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेसमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको बुढापाकाहरु बताउछन् ।
पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको स्थानीयहरुको भनाई रहेको छ ।