अछाम,पुष १३
अछामको कमलबजार विमानस्थलमा आज परिक्षण उडान भएको छ । निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परिक्षण उडान भएको हो । नेपालगंजबाट तारा एयरको ९एन–एईभी विमान कमलबजार विमानस्थलमा दिउँसो बजे अवतरण भएको थियो ।
आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परिक्षण उडान गरिएको हो । कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो।
२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द हुन पुग्यो। माओवादीले रिपिटर टावर भत्काएपछि परीक्षण उडान समेत सम्भव नभई विमानस्थल सञ्चालनमा आउन सकेन । विमानस्थल सञ्चालनमा नआउदा गौचरनमा परिणत भएको थियो । सुदूरपश्चीम प्रदेशको दुईवटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमलबजारमा गरी दुई स्थानमा विमानस्थल छन् । साँफबगर विमानस्थलमा समिट एयरले धनगढी –साँफे,साँफे – धनगढी र साँफे –नेपालगंज उडान भर्दे आईरहेको छ ।