माघ १४,अछाम
ढकारी गाउँपालिका ८ मा फुपू भदैनी मृत्यु घटनाको विषयमा सोधपुछ गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आईतवार साँझ दुई जनालाई ढकारीबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका दुई जना २० वर्ष मुनिका रहेका अछामका प्रहरी नायब उपरिक्षक डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । उनले भने,‘मृतकका आफन्तले शंका गरेका दुई जनालाई नियन्त्रणमा लिएका छौं,सोधपुछको लागी दुवैजनालाई मंगलसेन ल्याएका छौं । सुक्ष्म तरिकाले घटनाको अनुसन्धान भईरहेको छ ।’
शुक्रवार बाख्रा चराउन गएका १४ वर्षीया ईसरा र १५ वर्षीया सरस्वती खड्का सम्पर्क विहिन भएका थिए । आफन्तहरुले खोजी गर्ने क्रममा शनिवार मात्र षोडशा सामुदायिक वनको छिन्ने ओढार भन्ने ठाउँमा उनीहरु मृत फेला परेका थिए । मृतकका परिवारले भने हत्याको आशंका गरेका छन् । शब पोष्टमार्टमका लागी नेपालगंञ्जको भेरी अस्पतालमा पठाईएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको भण्डारीले जानकारी दिए ।