भीम रावलको पक्षमा खुल्न थालेका एमाले नेता कार्यकर्ताहरूमाथि कारबाहीको शृंखला सुरु भएको छ । रावलको अभियानलाई समर्थन गर्दै उनको स्वागतमा धनगढी विमानस्थल पुगेका कृष्णराज सुवेदी र भीष्मराज सुवेदीलाई एमालेले कारबाही गरेको जनाएका छ ।
नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्रीसमेत रहेका कृष्णराज सुवेदी र कैलाली जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको जनाएको छ ।
एमाले कैलाली सचिवालयको शनिबार बसेको बैठकले भीष्मराज सुवेदीलाई जिल्ला कमिटीबाट निष्काशित गरिएको छ । साथै, दुवै जनालाई पार्टीको संगठित सदस्यसमेत नहरनेगरी निष्कासन गर्न गरिएको निर्णय अनुमोदनका लागि केन्द्रिय कमिटीलाई पठाइएको एमाले कैलालीका उपसचिव चुडामणि भट्टले बताए ।
यता रावलको गृहजिल्ला अछाममा एमालेकै ठूलो पंक्ति रावलको समर्थनमा देखिएपछि पार्टीभित्र अन्योल असहज अवस्था उत्पन्न भएको एमाले नेता कार्यकर्ताहरु बताउन थालेका छन् । एमाले अछामका अध्यक्ष चन्द्र बोहराले भने, ‘अहिल्यै कसैलाई कारबाही गर्ने विचारमा छैनौं । तर पार्टी अनुशासनविरुद्ध निरन्तर गतिविधिमा संलग्न हुनेमाथि विचार हुने नै छ । आगामी बैठकमा त्यसबारे छलफल हुन्छ ।’ उनले पार्टी जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरूलाई पार्टीको अनुशासनमा बस्न आग्रह गरेको बताए ।