26.3 C
Achhām
अन्य

    सुदूरपश्चिम प्रदेश : सरकारबाट बाहिरियो एमाले

    सम्बन्धित समाचार

    धनगढी : केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ।

    एमालेका प्रदेशसभा सदस्य एवं आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर पार्टीबाट मन्त्री भएकाहरुले आजै राजीनामा बुझाएको जानकारी दिए।

    मन्त्री पालले भने, “प्रदेशबाहिर रहनुभएका मुख्यमन्त्रीसँग टेलिफोनमा सम्पर्क गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएर आएका छौँ।”

    एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आव ०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ।

    मन्त्री पालले प्रदेशसभाबाट यो बजेट पारित नहुने बताए। बजेटमाथिको छलफल प्रदेशसभामा अझै शुरु हुन सकेको छैन। नयाँ गठन हुने सरकारले अध्यादेशमार्फत बजेट ल्याउनसक्ने जनाइएको छ।

    यसअघि आज बसेको एमाले संसदीय दलको बैठकले सोडारी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

    समर्थन फिर्ता लिएसँगै गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारी अल्पमतमा परेका छन्। यही असार १ गतेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको थियो। त्यसयता बैठक बस्न सकेको छैन।

    मुख्यमन्त्री सोडारी पार्टीको काममा काठमाडौँमा छन्।

    सरकारको बजेटसम्बन्धी वार्षिक विकास कार्यक्रम (रातो किताब) आधिकारिक रुपमा सार्वजनिक नगर्दै त्यसको ‘पिडिएफ’ फायल अनधिकृत रुपमा सार्वजनिक भएपछि विरोध भएको थियो।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्तिको एक पक्ष र स्वतन्त्र सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।

    पछिल्लो पटक भएको प्रदेशसभा निर्वाचनपछि गठन भएको प्रदेशसभाले अहिलेसम्म २ जना मुख्यमन्त्री परिवर्तन गरिसकेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै अहिलेका मुख्यमन्त्री सोडारीको यात्रा पनि सङ्कटमा परेको छ।

    नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा पुनः नयाँ सरकार गठन गर्ने तयारी भइरहेको सो पार्टीका सांसदले बताएका छन्।

    ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रको सभामुखबाहेक १०, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादी पार्टीका ४, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन्।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट