जेठ ३० अछामः साँफेबगर नगरपालिका४ मष्टामाण्डौ एयरपोर्ट आसपासका किसानहरुले सडकलाई सिंचाई कुलो बनाउन बाध्य भएका छन् । एयरपोर्ट बजार सडकको काम अलपत्र हुँदा स्थानीयहरुले बिच सडकबाटै पानी लगाएर खेत सिंचाई गर्ने गरेका छन् । सिनर्जी÷धुर्बतारा जे.भी र पेटी ठेकेदार कम्पनी लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि.विच विगत एक वर्षदेखि आर्थिक लेनदेनमा विवाद हुँदा सडकको काम ठप्प भएको छ ।
सिंचाई कुलो नहुँदा र बनाईएको कुलो पनि व्यवस्थीत नगरिदा समस्या भएको स्थानीय भीम कुँवरले बताए । अन्य विकल्प नहुँदा सडककै बिचमै कुलो फर्काएर खेत सिंचाई गर्ने अवस्था रहेको कुँवरले बताए । उनले भने,‘ठेकेदार यहाँकै स्थानीय हुन्,जति भने पनि सुनुवाई भएकै छैन । सडकलाई सिंचाई कुलो बनाउदा सडक त बिग्रीयो नै खेत समेत बिग्रीएको छ । पानी खेतमा लगाउदा सडकको रोडा,साना ढुंगाहरु बगाएर सबै खेतमा जान्छ ।’ साँफेबगर क्षेत्रको मुख्य ठाउँहरुमा निर्माधिन सडकका कारण स्थानीयहरुले सास्ती भोग्नु परेको साँफेबगर नगरपालिका ४ का वडा अध्यक्ष नवराज बुढाले बताए । एयरपोर्ट बजारमा निमार्णधिन सडकका कारण स्थानीयहरुले खेतीपातीको सिजनमा सास्ती भोग्नु परेको गुनासो सुनाउन दिनहँु जस्तो वडा कार्यालय पुग्ने गरेको वडा अध्यक्ष बुढाले बताए । उनले भने,‘अहिले रोपाई सकिएर धानमा पानी लगाउने काम भईरहेको छ । सिंचाई कुलो अव्यस्थित हुँदा सडकमै कुलो बनाएर खेत चार्ने काम स्थानीयहरुले गरिरहेका छन् । सडक बिगार्ने गरी सिचाई नगर भन्न पनि मिलेन कृषकहरुलाई । सडकका रोडाहरु पानीले बगाएर सबै खेतमा लग्ने गरेको छ । यसको क्षतिपुर्ति चाहियो भन्दै स्थानीय वडा कार्यालय पुग्छन् । ठेकेदारहरु फोन उठाउदैनन् ।’ सडकमा जथाभावी कुलो बनाएर सिंचाई गर्नाले सडकमा सवारीसाधनहरुले जोखिम मोलेर ओहोरदोहोर गर्नु परेको सवारी चालकहरुले बताएका छन् । सघन शहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटी अन्र्तगतका साँफेबगरका १२ वटा योजनाहरु एक वर्षदेखि अलपत्र अवस्थामा छन् । मुख्य निमार्ण कम्पनी सिनर्जी÷धुर्बतारा जे.भीका धुर्ब कुँवरले भुक्तानी लिएर पेटी ठेक्काको जिम्मा पाएको लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि.का सन्तोष गुरुङले आफुलाई पैसा नदिएको आरोप लगाउदै आएका छन् । दुवै जना ठेकेदार एकअर्काेको सम्पर्कमा छैनन् । साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले ठेकेदारले आजभोली भन्दै टार्ने मात्रै काम गरेको बताए । ठेकेदारलाई ताकेता गरे पनि अझैसम्म काम सुरु नगरेको नगर प्रमुख कुँवरले बताए ।