असोज ८ अछाम
मर्यादित महिनावारी छाउगोठ मुक्त अभियान अन्र्तगत आज मेल्लेख गाउँपालिकामा कार्यान्वयन समिति गठन गरिएको छ । मेल्लेख गाउँपालिकाको आयोजनामा आज भएको अन्र्तकृया कार्यक्रममा मेल्लेख गाउँपालिकाका उपाध्यक्ष निर्प खड्काको संयोजकत्वमा वडा अध्यक्षहरु,महिला बालबालिका तथा जेष्ट नागरिक शाखा,पत्रकार,महिला संजाल लगायतका गरी कार्यान्वयन समिति गठन गरिएको हो ।
जिल्लामा समन्वय समिति प्रमुख ललितबहादुर कुँवरको संयोजकत्वमा १७ सदस्यीय निर्देशक समिति र मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको सयोजकत्वमा ९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको भईसकेको छ । उक्त समितिहरुको बसेको बैठकले पालिका उपप्रमुख एवम् उपाध्यक्षको संयोजकत्वमा छाउगोठ मुक्त बनाउने अभियान अन्र्तगत सबै पालिकामा कार्यान्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अन्र्तगत मेल्लेख गाउँपालिकामा पहिलो कार्यान्वयन समिति गठन गरिएको छ । पालिका स्तरमा समिति पश्चात प्रत्येक वडामा वडा अध्यक्षको संयोजकतवमा पनि समितिहरु गठन गरिने छ । गठन भएका समितिहरुले पछिल्लो समय छाउगोठको अवस्थाको तथाक,जनचेतना मुलक कार्यक्रम,छाउगोठ भत्काउने लगायतका कार्य गर्ने छ । मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख तथा निर्देशक समितिका सयोजक ललित कुँवर,विशिष्ट अतिथि मंगलसैन नगरालिकाका प्रमुख तथा कार्यसम्पादन समितिका सयोजक पदमबहादुर बोहरा,अतिथिहरु प्रमुख जिल्ला अधिकारी शिबप्रसाद लम्साल,प्रहरी नायब उपरिक्षक ईश्वरी प्रसाद भण्डारी,विभिन्न राजनितिक दलहरु,पत्रकार लगायतका रहेका थिए । कार्यक्रममा छाउगोठ मुक्त अभियानमा सबै एकजुट भएर फेरि लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा छाउगोठसगै मनका छाउगोठलाई भत्काउन जरुरी रहेको भन्दै जनचेतना मुलक कार्यक्रमहरु पनि सगसग लैजान सुझाब दिएका छन् ।
कार्यक्रममा विगतमा र अहिले छाउगोठको अवस्था,भएका परिवर्तन,अब गर्नुपर्ने कार्यका बारेमा महिलाअधिकारकर्मी पशुपति कुँवरले प्रस्तुति राखेकी थिईन् । कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत हिक्मत बुढाले गरेका थिए । भोली कमलबजार नगरपालिकामा कार्यान्वय समिति गठन गर्ने कार्यक्रम रहेको महिलाअधिकारकर्मी तथा निर्देशक समिति सदस्य पशुपति कुँवरले जानकारी दिईन् ।
हालसम्म अछाम जिल्लामा १४ जना महिला तथा किशोरीहरुको छाउगोठमा ज्यान गईसकेको छ । २०७६ साल देखि हालसम्म १० हजार भन्दा छाउगोठ भत्काईएको छ ।