भदौ ७ अछामः साँफेबगर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लाकै पहिलो बनेको छ । जिल्लाका दश पालिका मध्ये साँफेबगर नगरपालिका ७७.२५ अंक प्राप्त गरी जिल्ला कै पहिलो बनेको छ । पालिकाहरूले गत आर्थिक वर्ष ०७९÷८० मा गरेका कामको विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा साँफेबगर नगरपालिकाले जिल्लाका दश पालिकामध्ये सबैभन्दा धेरै अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ । सबै भन्दा कम अंक तुर्माखाँद गाउँपालिकाले ४३.५० अंक प्राप्त गरेको छ ।
पंचदेवल विनायक नगरपालिका ७१ अंक प्राप्त गरी दोस्रो ,मंगलसेन नगरपालिका ६९ अंक प्राप्त गरेर तेस्रो भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार क्रमश बान्नीगढी जयगढ गाउँपालिका ६८.५०,मेल्लेख गाउँपालिका ६६.५०,कमलबजार नगरपालिका ६४.२५,चौरपाटी गाउँपालिका ६३.७५,रामारोशन गाउँपालिका ४७.७५, ढकारी गाउँपालिका४७ अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न १० वटा विषय क्षेत्र र सूचकहरूलाई आधार मानेर मूल्यांकन पालिकाहरूको मूल्यांकन गर्ने गर्छ। मूल्यांकनका लागि मुख्य सूचकभित्र विभिन्न १ सय ६७ वटा उपसूचकहरू समेत मूल्यांकनको आधारको रूपमा राखिएको थियो।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ अनुसार स्वमूल्यांकनको काम प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ । पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार मानिएको हो । यस्तै, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्यांकन गरेका हुन् । तर, यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।