जेठ २९ अछाम ः बान्नीगढी जयगढ गाउँपालिकाले आगलागी पीडित लाभग्राहीहरुको सूची तथा नगद राहत रकम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आज अग्नीपीडितहरु सहित सर्वपक्षिय सर्वदलिय भेलाको आयोजना गरी राहत रकम पाउनेहरु नामावली र रकम सार्वजनिक गरेको हो । गाउँपालिकाको प्रमुख व्यापारीक केन्द्र जयगढ बजारका आगलागी पीडितलाई राहत वितरणका लागी कार्यविधि पारित गरि नगद राहत वितरणको कार्य अगाडी बढाएको छ । गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२’पारित गरिएको हो । कार्यविधि पारित भएसँगै जयगढ बजारका आगलागी पिडितलाई राहत पाउने बाटो खुलेको हो । जयगढ बजारमा गएको चैत २६ गते भएको भीषण आगलागीबाट प्रभावित पीडितहरुलाई राहत उपलब्ध गराउन ‘आगलागी पीडितलाई नगद वितरण कार्यविधि २०८२’ पारित गरेर स्थानीय राजपत्रमा प्रकाशित गरिसकिएको छ । जयगढका आगलागी पिडितहरुका लागि सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख, बान्नीजयगढ गाउँपालिकाको ६ लाख ,मंगलसेन नगरपालिकाबाट एकलाख ८४ हजार ६५०,रामारोशन गाउँपालिकाबाट एकलाख ५१ हजार,विभिन्न संघसंस्था,राजनितिक दल,व्यक्ति, समुहबाट गरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ६४ लाख ७६ हजार ३३ रुपैयाँ जम्मा रहेको छ ।
गाउँपालिकाले बनाएको कार्यविधि अनुसार आगलागी पीडितहरुलाई कुनै पनि भेदभाव नगरि निश्पक्ष तरिकाले नगद राहत वितरण गरिने गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले बताए । अध्यक्ष साउदका अनुसार अन्य पालिकाहरुले आगलागी पीडितहरुका लागी घोषणा गरेको रकम कोषमा जम्मा हुन बाँकी रहेको छ । उनले भने,‘प्रदेश सरकारले घोषणा गरेको रकम बैशाख १९ गते मात्र पालिकाको खातामा आयो । राहत वितरणका लागी कार्यविधि बनायौ पारित गरेर राजपत्रमा पनि प्रकाशित गरिसकेका छौं । अब आईतवार देखि नगद वितरणको काम सुरु हुन्छ ।’ कार्यविधिमा उल्लेख गरिए बमोजिमका कागजातहरु अग्नीपीडितहरुले गाउँपालिकामा ल्याएर नगद राहत लैजान सक्ने साउदले बताए ।
गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले सरकारले क्षतिपुर्ति दिन नसक्ने भन्दै राहत मात्र दिन सक्ने बताईन् । उनले भनिन्,‘आगलागीबाट करोडौको क्षति भएको छ । त्यसको क्षति पुर्ति गर्न सरकारले सक्दैन । सरकारले केहि धेरैथोरै राहत उपलब्ध मात्र गराउने हो । गाउँपालिकाले पारदर्शि तरिकाले राहत वितरण गर्नेछ । कार्यविधि अनुसार नै राहत वितरण हुनेछ ।’
गाउँ कार्यपालिकाले बनाएको कार्यविधि अनुसार राहत उपलब्ध गराउन चारवटा श्रेणी बनाएको छ । कार्यविधिमा उल्लेख भए अनुसार घर, टहरा सहितको व्यवसाय दुवै पूर्ण रुपमा जलेकोलाई अति उच्च, घर र व्यवसायमा आंशिक क्षति भएकोलाई उच्च, व्यवसायमा पूर्ण÷आंशिक क्षति, टहरा सहित व्यवसाय जलेकोलाई मध्यम तथा पूर्ण रुपमा जलेका साना व्यवसाय, कार्यालय, टहरा, अस्थायी आवास र कच्ची घरमा क्षति भएकालाई न्यून श्रेणीमा राखेर राहत वितरण गरिने उल्लेख गरिएको छ । कार्यविधि अनुसार अति उच्च श्रेणीमा परेकालाई पाँच लाख ५० हजार देखि चार लाख , उच्च श्रोणीमा परेकालाई चार लाख देखि तीन लाख , मध्यमलाई तिन लाख देखि एक लाख ५० हजार र न्यून श्रेणीमा परेकालाई एकलाख ५० हजार देखि १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराईने उल्लेख गरिएको छ ।
जयगढका ३९ जना अग्नीपीडितहरुलाई ६३ लाख २१ हजार नगद राहत रकम वितरण गरिनेछ । गाउँपालिकाले सार्वजनिक गरेको नगद राहत पाउने लाभाग्राही सूचीका अनुसार २ जनाले ५ लाख ५३ हजार, ३ जनाले तिन लाख ८७ हजार, ३ जनाले तिन लाख ४० हजार, २ जनाले तिन लाख ३८ हजार पाउने छन् । त्यसै गरी एक जनाले दुई लाख ८९ हजार, दुईजनाले दुई लाख ४० हजार, एक जनाले एकलाख ९२ हजार, एक जनाले एकलाख ४३ हजार, ६ जनाले ९५ हजार , दुई जनाले ७५ हजार, ७ जनाले ५० हजार ,तिन जनाले ३० हजार, ४ जनाले २५ हजार र दुई जनाले १५ हजार पाउने छन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्तबहादुर रावलले कार्यविधि पारित भएसगै राहत वितरणको बाटो सहजरुपमा खुल्ला भएको बताए । उनले अग्नीपीडितहरुले यतिका दिनसम्म धैर्यताका साथ अपनत्व देखाएकोमा धन्यवाद समेत दिए । राहत वितरणका ढिलाई नभएको भन्दै आवश्यक तयारीका केहि समय लागेको रावलले बताए । कार्यक्रममा उपस्थित राजनितिक दलहरु,अग्नीपीडित,अन्य सरोकारवालाहरुले सुझाब दिएका थिए । कार्यक्रमको सचालन गाउँपालिकाका नायब सब्बा तिलक ठकुल्लाले गरेका थिए ।
आगलागीबाट जयगढ बजारका ३५ भन्दा बढी पसल घर टहराहरु जलेका थिए । आगलागीबाट ८ करोड भन्दा बढीको क्षति भएको थियो ।