भदौ २६ अछाम
भदौ २७ गते देखि २९ गते सम्म पश्चिम नेपाल सहित देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अछाम जिल्ला सहित सुदूर पश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी गरि ६ जिल्लामा भारी वर्षाको उच्च जोखिम रहेको छ । त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
भारी वर्षा हुने स्थानमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको र ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउ महाशाखाले विषेश सूचना जारी गर्दै आग्रह गरेको छ ।
हाल देशभर नै मनसुनी वायुको प्रभाव छ । न्यून चापीय प्रणाली भने सरदर स्थानको दक्षिणतिर छ । भोलिदेखि न्यून चापीय प्रणाली सरदर स्थानतिर सर्ने सम्भावना छ । केही दिनयता पश्चिम भूभागमा पानी पार्ने प्रणाली केन्द्रित भएको छ । यद्यपि पूर्वी भूभागमा पनि पानी पर्ने सम्भावना छ । विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।