असोज ५,अछाम
पञ्चदेवल विनायक नगरपालिका ४ की झुपा विक २१ वर्षको भईन् । उनको परिवारमा आमाबुवा भाईबुहारी गरी ८ जनाको परिवार छ । सन्तान मध्ये झुपा जेठी छोरी हुन् । आमावुवा जेठो भाईबुहारी रोजगारीको सिलसिलामा भारत गएका छन् । घरमा झुपा र कान्छो भाईबुहारी बस्छन् । झुपाको परिवारको आम्दानीको मुख्य स्रोत नै वैदेशिक रोजगारी हो । एसईईपछी उच्च शिक्षा पढ्न जिल्ला बाहिर जाने सपना थियो– झुपाको । तर, पारिवारिक आर्थिक अवस्थाका कारण त्यो पुरा भएन । अनि, गाउंमै पढने निधो गरिन । आर्थिक अभावका कारण उनी गाउँकै विद्यालयमा समेत कक्षा ११ मा भर्ना हुन पाईनन् ।
पढाईको लागी खर्चको समस्या भइरह्यो । अनि, उनले ३९० घण्टाको कपाल काट्ने तालिम लिइन । कपाल काटने व्यवसाय शुरु गरिन । उनी फेरि पढाईलाई निरन्तरता दिने योजनामा छिन् । व्यवसायबाट आम्दानी हुन थालेकोले झुपा अब फेरि कक्षा ११ मा भर्ना हुने सोचमा छिन् । ‘छोरी मान्छेले के राम्रोसंग कपाल काट्लिन् र भनेर शुरुमा त कोहि पनि आउंदैनथे,’ झुपाले भनिन, जब १÷२ जनाको कपाल काटे । अरु पनि आउन थाले । अव त ग्राहकहरुले भने अनुसारको स्टाईलको कपाल काट्छु । मेरो काम देखेर खुशी भएर जान्छन् ।’
छोरी मान्छेले कपाल काट्ने काम गर्नु हुदैन भन्ने मान्यता राख्ने समाजलाई चुनौती दिदै विनायक बजारमा झुपाले कपाल काट्ने पसल खोलेकी छिन् । उनले ३९० घण्टाको कपाल काट्ने तालिम लिएपछि व्यवसाय सञ्चालन गरेकी हुन् । भारतबाट प्रत्येक महिना घर खर्च पठाउने गरेका झुपाका बुवाआमाले आजभोली पैसा पठाउनु पर्देन । घर खर्चसंगै बचत पनि भईरहेको झुपाले बताईन् । उनले भनिन,् ‘व्यवसाय हो सधै एकनासको हुदैन कहिले १ हजार देखि १५ सय सम्म हुन्छ कहिले ५÷६ सय आम्दानी हुन्छ ।’
झुपाले कपाल काट्ने तालिम लिदै गर्दा धेरैले उनलाई छोरी मान्छे यस्तो काम गर्नु हुदैन भनेर भन्थे । छोरी मान्छे कपाल काट्ने काम गरेको राम्रो होईन । छोरी मान्छे भएर के गरेको यस्तो, अरु कुनै काम पाईन्स् भन्ने पनि झुपालाई धेरै भेटिए । तर उनले ति सबैका कुरालाई वेवास्ता गर्दे व्यवसाय तिर लागीन् । कपाल काट्ने व्यवसाय सुरु गरेको झुपालाई ३ महिना हुन थाल्यो । केटी मान्छेले के राम्रोसंग कपाल काट्लिन्र भनेर कोहि नआउने गरेको उनले बताईन् । उनले भनिन् पहिले पहिले तर कपाल काट्न कोहि आउथेनन् । जब १÷२ जनाले कपाल काटेर जानु भयो अनि ग्राहकहरु आउन थाले । ग्राहकहरुले भने अनुसार कै कपाल काट्छु । आएकाहरु मेरो काम देखेर खुशी भएर जान्छन् ।’
मंगलसेन नगरपालिका ७ को ठुलासैन बजारमा धनसरा हेयर कटिङ्ग सेन्टर छ । यो धनसरा जैशीले ठुलासैन बजारमा सुरुवात गरेको व्यवसाय हो । १८ वर्षकी धनसराको काँधमा घरपरिवारको सम्पुर्ण जिम्मेवारी छ । भारत कमाउन गएका बुवा उतै बेपत्ता भएको दश वर्ष भयो । आर्थिक अवस्था कमजोरका कारण दिदिले बिचमै पढाई छोडिन् । अहिले धनसराकी दुई बहिनी तुलसी कक्षा ९ र हिना कक्षा ८ र भाई प्रेम कक्षा ६ मा पढ्छन् । धनसरा अहिले आफु अछाम बहुमुखि क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । कपाल काट्ने व्यवसायबाट आफु सन्तुष्ट रहेको धनसराले बताइएन् । उनले भनिन्,केहि नगरेर बस्नु भन्दा आफुलाई कामका व्यस्त राख्नु राम्रो हो,व्यवसायाट खर्च चलेको छ ,व्यवसाय हो कहिले राम्रै हुन्छ कहिले हुँदैन पनि । छोरीले घरव्यवहार मात्र हुर्नुपर्छ भन्ने मान्यता राख्ने हाम्रो जस्तो समाज फरक व्यवसायले पनि उत्साहित बनाएको उनी बताउछिन् । व्यवसाय सुरु गर्ने बेला उनलाई निरुत्साहित पार्ने पनि भेटिए हौसला दिने पनि भेटिए । उनले दैनिक ५ सय देखि एकहजार कमाई हुने गरेको बताईन् ।
पञ्चदेवल विनायक नगरपालिका ३ की निर्मला बुढाले पनि यहि व्यवसाय गरेकी छिन् । व्यवसाय सञ्चालन पछि निर्मलाको दैनिकी पनि पहिलेको भन्दा फेरिएको छ । पहिले घरासयी काममा व्यस्त हुने निर्मला आजभोली कपाल काट्ने व्यवसायमा व्यस्त छिन् । उनी २२ वर्षको भईन् । निर्मलाको परिवार संख्या ७ जनाको छ । निर्मलाले कक्षा १२ सम्म पढेकी छिन् । कपाल काट्ने व्यवसायसंगसंगै व्युटिपार्लरको काम पनि सुरु गर्ने सोचमा छिन् निर्मला । उनले भनिन्,‘आउने जति सबै महिला पुरुषको कपाल काट्ने कपालमा कलर लगाउने गर्छु , अब बाँकी व्युटिपार्लरको काम पनि सुरु गर्ने योजना बनाएको छु । यसको लागी तालिम लिनुपर्छ । तालिम आयोजना गर्नुपर्याे भनेर वडामा कुरा राखेको छु ।’विदेशको सपना देख्नु भन्दा आफ्नै गाउँठाउँमै काम गरेर विपनामा रमाउनु राम्रो उनी भन्छिन् । पहिले निर्मलालाई जिस्काउनेहरु अहिले उनको कामको प्रशंशा गर्छन् । छोरी गर्ने काम नै हैन यो भनेर गिज्याउथे हाँस्थे उनले भनिन् अहिले सबैजना राम्रो काम गरेकी छौं यसलाई निरन्तरता दिनु भन्दै सुझाब दिन्छन् ’
विपन्न, अपाङ्गता भएका तथा बन्चितिकरणमा परेका किशोरकिशोरीलाई आयआर्जनमा संलग्न गराई आर्थिक शसक्तिकरण तथा सम्मान जनक जिवन निर्वाहमा सहयोग पुर्याउने उदेश्यले वाक नेपालको पावर परियोजनाले उनलाई व्यवसाय सञ्चालनका तालिम र ५० हजार आर्थिक सहयोग गरेको हो । अधिकांश कपाल काट्ने व्यवसाय हजामले नै गर्छन् । त्यसमाथी पुरुषहरुले मात्र कपाल काट्ने काम गर्छन् । नेपालमा वर्षाे देखि कपाल काट्ने व्यवसाय भारतीय नागरिकहरुले गर्दे आएका छन् । अछामका बजारहरुमा पनि भारतीय नागरिकहरुले मात्र यो व्यवसाय सञ्चालन गरेको देखिन्छ । फाट्फुट् रुपमा केहि स्थानीय युवाहरु पनि यो व्यवसायमा संलग्न भएको पाईन्छ । तर पछिल्लो समय अछामका किशोरीहरुले समेत यो व्यवसाय सञ्चालन गरेका छन् । महिला प्रतिको पुरातन दृष्टिकोण, व्याप्त लैंगिक असमानता र विभेदका बिच अछाममा लैंगिक समता तथा शसक्तिकरणको नौलो प्रयास सुरु भएको छ । जसले, अवसर पाए महिलाले पनि पुरुष सरह काम गर्न सक्ने कुरा प्रमाणित गरेको छ ।