साउन २१ धनगढी
सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा मेघराज खड्का नियुक्त भएका छन् । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री समेत रहेका खड्का पहिलो पटक मन्त्री बनेका हुन् । उनले आज शपथ लिएका छन् । करिब पाँच दशक लामो निष्ठा,ईमान्दारिता र त्यागको राजनिति गरेका खड्काले यसपटक कांग्रेस एमाले गठबन्धनको सरकारमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाह नेतृत्वको सरकारमा खड्का मन्त्री बनेका हुन् । सरल स्वभाव, ईमानदार कर्मठ र निष्ठावान नेताको छवि बनाएका सांसद खड्का मन्त्री बनेसंगै अछामी जनताको थुप्रै आशा र अपेक्षा रहेको छ ।
खड्काले विद्यार्थी जिवनकाल देखिनै राजनितिमा होमिएका थिए । वि.स. २०३६ सालको जनमत संग्रहपछि माध्यमिक तहमा पढ्दा बहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा उनको सहभागीता रहेको थियो । उनी २०३७ सालमा नेविसंघको सदस्य बने । वि.स. २०४१ सालमा खड्का कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापतिमा निर्वाचित भएका थिए । त्यसपछि २०४२ फागुनपछि स्ववियु सभापति र निर्दलीय पञ्चायतका विरुद्ध नेपाली कांग्रेसद्वारा सञ्चालित २०४२ सालको सत्याग्रहमा ४ महिना भन्दा बढी कारागारमा नजरबन्दमा उनी रहे । साथै उनले २०४६ सालको जनआन्दोलनमा कठोर यातनासहित अछामको हिरासतमा १६ दिन जेल बसे । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा कैलालीमा ४ पटक उनी हिरासतमा पुगेका थिए । २०६२÷६३ को जनआन्दोलनमा सक्रिय उनको सहभागिता रहेको थियो ।
२०४८ सालमा उनी कांग्रेस जिल्ला सदस्य बने । पार्टीको ९औँ महाधिवेशनदेखि १४औँ वर्षसम्म उनले जिल्ला सदस्यमै बसेर काम गरे । यस्तै उनी पार्टीको ९औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म निरन्तर महासमिति सदस्य बनेका थिए । सांसद खड्का २०५४ सालमा जिल्ला विकास समिति सदस्य बनेका थिए । २०६३ देखि २०६७ सम्म उनी कांग्रेस अछामको सभापति बनेर राम्रो काम गरेका थिए । यस्तै उनी १४औँ महाधिवेशनमा कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्रीमा निर्वाचित भएका थिए । त्यसपछि उनी २०७९ मंसिर ४ गतेको चुनावमा अछाम क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । साथै उनले राजनितिशास्त्रबाट एम.ए सम्मको अध्ययन गरेका छन् ।