असार ३ अछामः नेपाल सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ साल फागुनबाट सुरु गर्ने भएको छ । सरकारले आर्थिक गणना प्रत्येक ५÷५ वर्षमा गर्ने लक्ष्य राखिएको भएपनि दोस्रो पटकको आर्थिक गणना ७ वर्षपछि हुन लागेको हो । पहिलो आर्थिक गणना २०७५ मा भएको थियो । साँफेबगरमा आज आयोजित राष्ट्रिय आर्थिक गणना तथ्याङ्कको आवश्यकता विषयक सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा आर्थिक गणनाको आवश्यकता,२०७५ को आर्थिक गणनाको मुख्य नतिजाहरु र चुनौतीहरुका विषयमा जानकारी गराईएको छ । राष्ट्रिय आर्थिक गणना तथ्याङ्क समन्वय कार्यालय डोटीका सुपरिर्वेक्षक प्रकाश विष्टले २०७५ को आर्थिक गणनाले देखाएको तथ्याङ्क प्रस्तुत गरेका थिए । तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ६२ हजार ९६८ व्यापार व्यवसाय, उधोग, प्रतिष्ठानहरु रहेका छन् । त्यसमध्ये पनि ३४ हजार ७३२ दर्ता भएका र २८ हजार २३१ दर्ता नभएका प्रतिष्ठानहरु रहेका छन् । उक्त प्रतिष्ठानहरुमा १ लाख ३९ हजार २०६ पुरुष र ४५ हजार ९८५ महिलाहरु संलग्न रहेको तथ्याङ्क छ । अछाममा ४ हजार २८४ प्रतिष्ठान रहेकोमा २ हजार २६२ दर्ता र १ हजार ४८० दर्ता भएका रहेका छन् । उक्त प्रतिष्ठानहरुमा ९ हजार ४९४ पुरुष र ४ हजार १८६ महिलाहरुको सहभागीता रहेको छ । आर्थिक गणना तथ्याङ्क समन्वय कार्यालय डोटीका सुपरिर्वेक्षक प्रकाश विष्टले तथ्याङ्क प्रस्तुत गर्दे आर्थिक गणनाका क्रममा प्रतिष्ठानहरुको पहिचान गर्न कठिनाई,अधिकाश प्रतिष्ठानहरुले लेखा राख्ने नगरेका कारण तथ्याङ्क लिन असहज,आम्दानी खर्च विवरण सहि नआउदा जस्ता चुनौती रहेको बताए । उनले राष्टिय तथ्याङ्क कार्यालयले सचालन गर्ने सबै गणना तथा सर्वेक्षणमा सोधिएका व्यक्तिगत विवरणहरु तथ्याङ्क ऐन २०७९ को दफा १० बमोजिम गोप्य राखिने बताए । साथै संकलित विवरणहरु अधिकार प्राप्त अधिकारी बाहेक अरु कसैलाई देखाउन,प्रकाशन गर्न वा अन्य कुनै निकायमा प्रमाणको रुपमा पेस नगरी सामुहिक तथ्याकीय प्रयोजनका लागी मात्र प्रयोग गरिने उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कँवरले मुलुकको दिगो विकासको लागि आर्थिक तथ्याङ्क अपरिहार्य रहेको बताए । नेपालका दोस्रो पटक यसै वर्षबाट राष्ट्रिय आर्थिक गणना तथ्याङ्क हुने भएकाले राज्यलाई यर्थाथपरक विवरण उपलब्ध गराउन आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि अछाम उद्योग वाणिज्य संघका कार्वाहक अध्यक्ष वम रावलले मुलुकमा आर्थिक तथ्यांक प्रणालीलाई मजबुत तुल्याउनु पर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै सबै उद्योग, व्यवसाय, विभिन्न सेवा प्रदायक लगायतका संघ संस्था जस्ता प्रतिष्ठानलाई यथोचित डाटा उपलब्धत गराउन आग्रह समेत गरे ।
अन्तरक्रिया कार्यक्रमकम तुर्माखाँद गाउँपलिकाका पूर्व अध्यक्ष पुष्पराज शर्मा, साँफेबगर नगरपालिका १२ खप्तडका वडाअध्यक्ष जनक कडायत, अछाम उद्योग वाणिज्य संघका सचिव कृष्ण कुँवर, निर्माण व्यवसायी संघका महासचिव गौतम कुँवर, एरपोटवजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर, समाजसेवि प्रकाश शाह, चन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो । समन्वय कार्यालय डोटीका सुपरिर्वेक्षक तिलक पालले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको सञ्चालन राष्ट्रिय आर्थिक गणना तथ्याङ्क समन्वय कार्यालय खरिदार हरिष पन्तले गरेका थिए ।