जेठ २२ अछामः सघन शहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटी अन्र्तगत आर्थिक वर्ष २०८१÷८२ मा साँफेबगर नगरपालिकाका विभिन्न ठाउँमा निर्माण हुन लागेका १२ वटा योजनाहरुको काम ९ महिनादेखि अलपत्र परेका छन् । गत असोज महिनादेखि भवन देखि विभिन्न ठाउँमा सडक निमार्णको काम ठप्प छ ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत एयरपोर्ट बजार सडक कालोपत्रे, छिपेखोला सडक कालोपत्रे, नगर प्रमुख तथा उपप्रमुख आवास निर्माण, सरमखेल्ने पार्क निर्माण, बयालपाटा पार्क निर्माण, बैद्यनाथधाम सडक मर्मत, ठाँटी बजार भित्री सडक निर्माण, तारेकुना कम्प्लेक्स भवन, घुघुरकोट वडा कार्यालयदेखि दरबार जाने सडक निर्माण, हाटबजार खोला व्यवस्थापन, पुलबजार सडक कालोपत्रे, लामाखेत डोप्का नाली निर्माण, गरी विभिन्न शीर्षकमा निर्माण योजनाहरु छुट्याईएका छन् ।
सघन शहरी कार्यक्रमको एउटै प्याकेजमा दर्जनौँ कामको जिम्मा पाएकोे निर्माण कम्पनी सिनर्जी÷धुर्बतारा जे.भी र पेटी ठेकेदार कम्पनी लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि. बिच आर्थिक लेनदेनमा किचलो हुँदा निर्माणको काम ठप्प भएको हो । ८ वटा योजना निर्माणको काम सुस्त गतिमा अघि बढेको भए पनि वैद्यनाथ धाम सडक, ठाँटी बजार भित्री सडक, लामाखेत डोप्का नाली र हाटबजार खोला व्यवस्थापन निर्माणको काम विभिन्न कारण भने हालसम्म सुरु हुन सकेको छैन । साँफेबगर क्षेत्रको मुख्य ठाउँहरुमा निर्माधिन सडकका कारण स्थानीयहरुले सास्ती भोग्नु परेको साँफेबगर नगरपालिका ४ का वडा अध्यक्ष नवराज बुढाले बताए । एयरपोर्ट बजारमा निमार्णधिन सडकका कारण स्थानीयहरुले धान रोप्ने समयमा सास्ती भोग्नु परेको गुनासो सुनाउन दिनहँु जस्तो वडा कार्यालय पुग्ने गरेको वडा अध्यक्ष बुढाले बताए । उनले भने,‘अहिले धमाधम रोपाई सुरु भएको छ । सडकमा हालिएका रोडाहरु वर्षाको पानीले बगाएर सबै खेतमा लग्ने गरेको छ यसको क्षतिपुर्ति चाहियो भन्दै स्थानीय वडा कार्यालय पुग्छन् । ठेकेदारहरु फोन उठाउदैनन् । बनाउने नाममा बिगार्ने काम भईरहेको छ ।’
शहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटीसँग २०८१ कार्तिक १५ मा ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी भ्याट सहित ३३ करोड ६१ लाख २१ हजारमा ठेक्का सम्झौता गरेको सिनर्जी÷धुर्बतारा जे.भी निर्माण कम्पनीले काम गर्न लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि. लाई जिम्मा दिएको थियो । पेटीमा काम गरिरहेका लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि. का प्रतिनिधि सन्तोष गुरुङले आफुले काम गरे अनुसारको भुक्तानी नपाउदा मर्कामा परेको बताए । उनले भने,‘आफुले पाउनुपर्ने बाँकी एक करोड ७४ लाख हालसम्म पाएको छैन,पैसा नपाएपछि कसरी काम गर्ने,कामदारलाई पैसा दिनसकेको छैन । पैसा नदिएपछि अनि कसरी अगाडी काम बढ्छ ।’ सिनर्जी÷धुर्बतारा जे.भी निर्माण कम्पनीले सो योजनाको बिल उठाएर करिब १४ करोड ६४ लाख बराबरको भुक्तानी लिएर अन्य योजनाको काममा प्रयोग गरेको आरोप उनको छ ।
लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि.का अर्काे प्रतिनिधि प्रदिप खड्का अनुसार ५१ प्रतिशत काम सम्पन्न भएको तर अहिलेसम्म ४ करोड १० लाख मात्र रकम पाएको बताए । बाँकी एक करोड ७४ लाख जति रहेको उनले बताए । मुख्य ठेकेदारका कारणले निमार्ण कार्यमा समस्या भईरहेको खड्काले बताए । नगर प्रमुख तथा उपप्रमुख आवास र तारेकुना कम्प्लेक्स भवनको काम भने निरन्तर जारी रहेको बाँकी सडकको काम ठप्प रहेको खड्काले बताए ।
शहरी विकास तथा भवन कार्यालय डोटीले पनि ठेकेदारको चरम लापरबाही भएको बताएको छ । निर्माण कम्पनीलाई काममा ढिलासुस्ती किन भईरहेको छ भन्दा विभिन्न बाहाना देखाई एक वर्ष म्याद थपका लागि चिठी पठाएको शहरी विकास तथा भवन निर्माण कार्यालय डोटीका आयोजना प्रमुख राम आशिष दासले बताए । उनले भने,हामीले चिठ्ठी स्वीकृतका लागी विभागमा पठाईएको छौं, स्वीकृत हुन्छ या हुदैन त्यो विभागले गर्ने कुरा हो, विभागबाट एकवर्ष हुदैन ६ महिना मात्र म्याद थपको कुरा भईरहेको छ । मुख्य ठेकेदार र पेटी ठेकेदार एक ठाउँमा बसेर कुराकानी नगर्दा समस्या भईरहेको छ ।’ कार्यालयबाट काम अनुसारको दसै अगाबै रकम भुक्तानी भईसकेको आयोजना प्रमुख दासले बताए । दासका अनुसार पेटी ठेकेदारले पैसा नपाएको गुनासो छ र मुख्य ठेकेदारले काम गरे भन्दा बढी पैसा दिएको दाबी गर्छन् । वर्षायाम सुरु भएको त्यसपछि दसै तिहार काम नै नहुने भएकाले कार्वाहि भन्दा अर्काे विकल्प नरहेको दासले बताए ।
ठेक्का स्वीकृत भएको निर्माण कम्पनी सिनर्जि÷धुर्वतारा जे.भि का प्रतिनिधि धुव्र कुँवरले लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लिलाई भुक्तानी दिएको दाबी गरे । उनले भने, सघन शहरीबाट १४ करोड ६४ लाख भुक्तानी लिएको हो । लाङ्टाङ कन्स्ट्रक्सनलाई पनि भुक्तानी दिएका छौं। अहिले ठेकेदार आफै सम्पर्कमा छैन। भागेर हिडेको छ ।’बजेट अभाव र अन्य थुपै्र कारणहरुले गर्दा काम रोकिएको अब काम सुरु हुने बताए । साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले ठेकेदारले आजभोली भन्दै टार्ने काम मात्र गरेको बताए । नगर प्रमुख कुँवरले नगरपालिकाबाट ताकेता गर्दा ठेकेदारले कुनै सुनुवाई नगरेको बताए । उनले भने,‘धेरै पटक फोन मार्फत भने,आज गर्छु भोली गर्छु भन्दाभन्दै ९ महिना देखि काम गरेकै छैन । वर्षायाम सुरु भयो यस्तो बन्दै गरेको सडकका कारण थुप्रै समस्या झेल्नु पर्नेछ अब ।’
सघन शहरी अन्र्तगर्त ग्रामीण बस्तीमा आधुनिक सहरी सुविधा विस्तार गरी सघन र सुविधा सम्पन्न बस्तीमा रूपान्तरण संगै आर्थिक तथा सामाजिक सम्बन्ध स्थापित गर्ने, बढ्दो जनसंख्या र बसाइँसराइका कारणले नेपालमा बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाई स्वच्छ, हराभरा र बस्न लायक सहर निर्माण गर्ने उदेश्यले सरकारले ल्याएको नीति तथा कार्यक्रमको काम अलपत्र छन्
ठेकेदारको मनपरी हुँदा ३३ करोडका योजनाहरु अलपत्र
