साउन १४ काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको छ । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् । अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी मलेसियामा लुकेर बसेको अनुमान छ । यसअघिका गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गरेर नेपाल ल्याउने कोसिस भइरहेको बताएका थिए सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।
बचतकर्ताको अर्बौँ हिनामिना गरेर भागेकाहरूमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका जीबी राई मलेसियामा लुकेको निष्कर्ष सरकारले निकालेको छ। त्यसैगरी सूर्यदर्शन बचत तथा सहकारी संस्था लिमिटेडका सञ्चालक ज्ञानबहादुर बम्जन अमेरिका भासिएकाले फिर्ता ल्याएर बयान गराउनु आवश्यक रहेको संसदीय छानबिन समितिले जनाएको छ । त्यस्तै सुमेरू बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत महर्जन, श्रीमती राजमाया महर्जन, छोरा सचिन र छोरी सरलासहित सपरिवार बेलायतमा लुकेको पाइएको छ । सहकारी ठगीमा संलग्न भनिएका अन्य ८ जना पनि विदेशमै भए पनि कुन देशमा लुकेका छन् भन्ने पत्ता नलागेको संसदीय छानबिन विशेष समितिका संयोजक थापाले बताए ।