भदौ २८ अछाम ः साँफेबगर नगरपालिका ३ डिक्रेनीकी पबी रावतले नागरिकता पाएकी छन् । ४÷५ वर्षदेखि नागरिकताका लागी भौतारिदै आएकि पबिले बिहिवार नागरिकता पाएकि हुन् । प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्सालले पबिलाई नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता पाएपछि निकै खुशी लागेको पबीले बताईन् । उनले भनिन्, ‘मेरा लागी तमि सबै भगवान् बनेर आया,आज मेरो ठुलै सपना पुरा भयो । अब घर बिजुलीको लागी मिटर राख्छु । छोराको नागरिकता बनाउछु ।’पबीले घर झिलिमिली बनाउने सपना समेत पुरा भएको भन्दै खुशी व्यक्त गरिन् । पबिका सुसुरा ज्योति रावतले नागरिकतामा सनाखत गरेका हुन् । प्रजिअ लम्सालले कोहि नहुनेको साथमा राज्य हुनपर्ने बताए । उनले भने,‘पबि जस्ता विपन्न बेसहाराहरु कागजात जुटाउन नसकेको अवस्थामा नागरिकता प्राप्तीबाट बञ्चीत हुनु हुदैन । यस्तो विषयमा सबैले सहजिकरण गर्नुपर्छ । मुख्य गरेर स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरुले समन्वय गर्न अति जरुरी हुन्छ ।’ पबिले नागरिकता नपाएको समाचार अन्नपुर्ण पोष्टमा प्रकासित भएको थियो ।
महिला अधिकारकर्मी पशुपति कुँवरले पबीको नागरिकताको विषय अन्नपुर्ण पोष्ट दैनिकमा प्रकासित समाचारपछि जानकारी पाएको र नागरिकताको लागी निकै सकस गर्नुपरेको बताईन् । नागरिकताको लागी कागजात अन्य प्रकृयामा जनप्रतिनिधिले साथ नदिदा ढिलाई भएको बताईन् । उनले भनिन्, ‘यो समाजले पबी जस्ता श्रीमान्बाट बेवास्ता गरेका महिलालाई बाँच्नै गाह्रो बनाउछ । नागरिकताका लागी सासु ससुरालाई मनाउनै कति समय लाग्यो । ढिलै भएपनि उनलाई नागरिकता दिलाउन सफल भएका छौं ।’ जिल्लाका ४÷५ जना यस्ता महिलाहरुलाई नागरिकता दिलाउन सफल भएको अधिकारकर्मी कुँवरले बताईन् ।
पबीले दिपेन्द्र रावतसंग मागी विवाह गरेकी थिइन् । पबिको १९ वर्षको छोरा सुरेश छ । छोरा दुई वर्षको हुदाँ उनको श्रीमान् रोजगारीका लागी भारत गएका र त्यसपछि सम्पर्क बिहिन भएका हुन् । भारतकै एकजना महिलासंग बिहे गरेपछि दिपेन्द्र परिवारसंग सम्पर्क बिहिन भएका उनका वुवा ज्योति रावतले बताए । कक्षा २ मै पढाई छोडिसकेका सुरेश कमाउनमा लागी भारत गएका छन् । आर्थिक अभावका कारण छोरालाई पढाउन सकिनन् पबीले ।
पबीकोे भत्कीने अवस्थाका पुगेको सानो जीर्ण घर । २०७९ कात्र्तिकमा गएको भुकम्पले घर चिराचिरा परेको छ । हिउँदमा पर्ने पानीले समेत घर चुहिन्छ । वर्षायामको पानीको त कुरै नगरौं । घरभित्रै पनि राम्रोसँग ओत लाग्ने ठाउँ छैन । घरमा भएजतिका भाडाहरु चुहिने ठाउँमा थापिएका छन् । घरमा बिजुली समेत छैन । राती पारी गाउँमा बल्ने झिलीमिली बत्ति हेरेरै बस्नु पर्ने अवस्था छ । श्रीमान्बाट बेवास्ता गरिएकी पबी घरपरिवार समाजबाट पनि बहिष्कार जस्तै भएकी छिन् ।