असार ११,अछाम
साँफेबगर नगरपालिकाको न्यायिक समितीमा ७ वर्षको अवधिमा ४८ वटा मुद्धा दर्ता भएका छन् । दर्ताका भएका मुद्धा मध्ये ३९ वटा मुद्धा फच्र्याेट भएका र ७ वटा बाँकी रहेका छन् ।
साँफेबगर नगरपालिकाको नगरसभाको १३ औं अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले न्यायिक समितिले न्याय निरुपण गर्न पाउने क्षेत्राधिकार भित्र रहेर न्याय सम्पादन गरिएको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ दफा ४७ बमोजिम प्रदत्त विवादहरुको न्यायिक निरुपण गर्ने अधिकार रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ७,२०७५÷७६ मा ६ ,२०७६÷ ७७ ६,२०७७÷७८ मा १२ वटा,२०७८÷७९ मा ७,२०७९÷८० मा ९ र चालु आर्थिक वर्षमा २ मुद्धा दर्ता भएका हुन् । न्यायिक समितिमा आलिधुर सम्बन्धी १०,पति पत्नी बिचको सम्बन्ध सुधार २,गाली बेईज्जति ६,घरेलु हिंसा १२,ज्याला मजदुरी नदिएको ३,कुटपिट २,ईज्जत आमद अनुसार नावालक छोरा, छोरी र पति पत्नी लाई खान लाउन नदिएको ३ ,अर्काेको हकभोगमा रहेको जग्गा भोग चलन गरेको १, आर्थिक लेनदेन ६, लाजसाजी १, अंश भाग १, कामबाट निकालेको १, ईज्जत प्रतिष्ठामा आँच पुर्याएको १ गरी ७ वर्षको अवधिमा ४८ मुद्धा दर्ता भएका छन् ।
न्यायिक समितिलाई आलीधुर,बाँधपैनी,कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग,अर्काको बाली नोक्सानी,चरन घास दाउरा,,ज्याला मजदुरी नदिएको घरपालुवा पशुपक्षी हराएको वा पाएको,जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको लगातका मुद्धा मेलमिलापको माध्यमबाट न्याय निरुपण गर्ने अधिकार रहेको छ ।