असोज १४ अछाम
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले बयालपाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुगेका मन्त्री खड्काले आज साँफेबगर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागी विज्ञहरुको टिम बनाएर विशिष्टकृत अस्पतालको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिने बताए । मन्त्री खड्काले चालु आर्थिक वर्षका लागी ७ करोड ५० लाख बजेट अस्पतालका विनियोजन गरिएको जानकारी दिए । उनले भने, ‘सिधै कुनै संघ संस्थालाई तलब खुवाउनु भनेर बजेट हाल्न मिल्दैन, अहिले मात्र बजेट विनियोजनले तत्कालको समस्या समाधान त होला ,पछि फेरि यो समस्या आईहाल्छ । त्यसैले यसको दिर्घकालिन व्यवस्थापनका लागी योजना बनाएको छु,विज्ञ टोली बनाउने र अगाडी बढ्ने तयारी छ ।’ बयालपाटा अस्पताललाई विनियोजन गरेको विषयमा सामाजिक संजालहरुका विभिन्न टिकाटिप्पणी आएको भन्दै बयालपाटा अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार नै बजेट विनियोजन गरिएको बताए । उनले दातृ निकायको भर पर्नुपर्ने वातावरणको अन्त्य गर्न अतिआवश्यक रहेको बताए । मन्त्री खड्काले प्रदेशको शिक्षा,स्वास्थ लगायतको क्षेत्रमा उचित सम्बोधन सहित बजेट विनियोजन गरिएको बताए । उनले मन्त्रालयमा योजना मागको चाप धेरै रहेकाले सम्बोधन गर्नुपर्ने योजनाहरु छानिएका र केहि छुटफुट भएको भन्दै छुटेका योजनाहरुलाई पनि समाबेश गरिने बताए ।
कार्यक्रममा साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले प्रदेश सरकारबाट २ करोड ६० लाखको विभिन्न १५ वटा योजनाहरुमा आएको बताए । कुँवरले प्रदेशबाट आएका योजनाहरुलाई प्रभावकारी बनाउन सबै सकारात्मक तरिकाले लाग्न आग्रह गरे । उनले योजना यसले वा त्यसले ल्याएको भन्ने तर्फ नलाग्न सुझाब दिए । उनले नगरपालिकालाई जानकारी नै नभएका केहि योजना आएका भन्दै यसले भोली समस्या पार्ने बताए । नगर प्रमुख कुँवरले बयालपाटा अस्पतालाई बजेट विनियोजन गरेमा मन्त्री खड्कालाई धन्यवाद दिए । कार्यक्रममा नगर उपप्रमुख शिबबहादुर कुँवरले प्रदेशमा कतिपय ऐन कानुन नबन्दा स्थानीय सरकार अन्यौल रहेको बताए । उनले बनेका निति नियमहरु पनि स्पष्ट नहुदा स्थानीय सरकारले झंझट व्यहोर्नु परेको बताए । उनले बयालपाटा अस्पतालाई बजेट विनियोजन गरेकोमा धन्यवाद दिदै उचित व्यवस्थापन ध्यान दिन सुझाब दिए ।