जेठ २९ अछामः जयगढ बजारका आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२ पारित गरिएको छ । बान्नीगढी जयगढ गाउँपालिका स्थित जयगढ बजारमा भएको आगलागी पीडितलाई राहत उपलब्ध गराउनका लागि ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२’ पारित गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ३, र ४ मा पर्ने ऐतिहासिक जयगढ बजारमा गएको चैत २६ गते भएको भीषण आगलागीबाट प्रभावित पीडितहरुलाई राहत उपलब्ध गराउन ‘आगलागी पीडितलाई नगद वितरण कार्यविधि २०८२’ पारित गरेर स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ । कार्यविधि पारित भएसँगै जयगढ बजारका आगलागी पिडितलाई राहत पाउने बाटो खुलेको हो । गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८१’ पारित गर्दै पीडितलाई राहत दिने औपचारिक प्रक्रिया पनि सुरु गरेको छ ।
उक्त कार्यविधि अनुसार आगलागीबाट घर, पसल, गोठ, टहरा, कार्यालय तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति बेहोरेका व्यक्तिहरुलाई मापदण्ड अनुसार नगद राहत प्रदान गरिने गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले बताए । कार्यविधि पारित भएसँगै गाउँपालिकाले उक्त निर्णयलाई स्थानीय राजपत्र मार्फत सार्वजनिक गरेको छ ।
आगलागीबाट पीडित परिवारका घाउमा मलम लगाउन प्रतिवद्ध रहेको बताउँदै उहाँले कुनै पनि वास्तविक पीडित राहत पाउनबाट वञ्चित नहोस् भन्नेमा सचेत रहेको बताए । उनका अनुसार कार्यविधिको आधारमा निष्पक्ष रुपमा राहत वितरण गरिनेछ ।
गाउँ कार्यपालिकाले बनाएको कार्यविधि अनुसार राहत उपलब्ध गराउन चारवटा श्रेणी बनाएको छ । कार्यविधिमा उल्लेख भए अनुसार घर, टहरा सहितको व्यवसाय दुवै पूर्ण रुपमा जलेकोलाई अति उच्च, घर र व्यवसायमा आंशिक क्षति भएकोलाई उच्च, व्यवसायमा पूर्ण÷आंशिक क्षति, टहरा सहित व्यवसाय जलेकोलाई मध्यम तथा पूर्ण रुपमा जलेका साना व्यवसाय, कार्यालय, टहरा, अस्थायी आवास र कच्ची घरमा क्षेति भएकालाई न्यून श्रेणीमा राखेर राहत वितरण गरिने उल्लेख गरिएको छ ।
उक्त कार्यविधि अनुसार अति उच्च श्रेणीमा परेकालाई चार लाख देखि पाँच लाख ५० हजार, उच्च श्रोणीमा परेकालाई तीन लाख देखि चार लाख, मध्यमलाई एक लाख ५० हजार देखि तीन लाख र न्यून श्रेणीमा परेकालाई १५ हजार देखि एक लाख ५० हजार रुपैयाँसम्म राहत उपलब्ध गराईने उल्लेख गरिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर रावलले पीडितहरुले अब गाउँपालिकासँग सम्पर्क राखेर राहतका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्ने बताए ।
गत चैत २६ गते भएको आगलागीबाट जयगढ बजारमा ठुलो मात्रामा भौतिक तथा आर्थिक क्षति पुगेको थियो । राहतको कार्यविधि पारित भएसँगै पीडितहरुमा केही आशा जागेको छ ।
जयगढका आगलागी पिडितहरुका लागि सुदूरपश्चिम प्रदेश सरकारले नगद ५० लाख उपलव्ध गराई सकेको छ, भने गाउँपालिकाले ६ लाख बजेट विनियोजन गरेको थियो । विभिन्न व्यक्ति, राजनितिक दल तथा संघ संस्थाहरुले पनि गाउँपालिकाको कोषमा रकम जम्मा गरेका छन् ।